ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नुहुँदैनः गगन थापा

राष्ट्रपाटी न्युज

मंसिर २७, २०७९

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्न नहुने बताएका छन् ।

मंगलवार प्रेस लैङ्गिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यक्ता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए ।

उनले शुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि जिकिर गरे । उनले नेपालमा शुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरु अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानूनको संशोधन र निर्माण हुन नसकेको बताए ।

उनले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुनसक्ने सम्भावित कुराको जानकारी समयसमयमा गराइरहने हो भने नीति निर्माण कर्ताले पनि सोही अनुसार निर्माणका कुरामा आफ्ना धारणाहरु थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताए । आधारभुत स्वतन्त्रता थप संकुचित भए समुन्नतिको मापनमा पछि पर्ने उनको भनाइ थियो ।


Published :मंसिर २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media