मन्त्रिपरिषद् विस्तारमा अझै १५ दिन लाग्न सक्ने केपी ओलीको संकेत

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०–१५ दिन लाग्न सक्ने संकेत गरेका छन् । उनले हाल खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे । उनले खेलाडीहरूले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उक्त माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासन दिए ।

नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने बताउँदै उनले बालबालिकालाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याए ।

‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरूको यो अभिव्यक्ति र हेरोस् भन्ने चाहना तथा मागलाई सरकारसमक्ष पुर्‍याउँछु । अहिले त खेलकुदमन्त्री नै छैन । केही दिन भित्रभन्दा पनि १०–१५ दिन लाग्न पनि सक्छ । खेलकुद मन्त्री आउन’, उनले भने, ‘तर, १०-१५ दिनपछि भए पनि म खेलकुदमन्त्री जो बन्ला, उसलाई पनि यो तपाईंहरूको कुरा भन्छु । खेलाडीहरूको भनाइ छ–खेल क्षेत्रलाई सरकारले हेरोस् । त्यो कुरा म सरकारसँग राख्छु ।’

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरूले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।


Published :१७ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media