सर्वदलीय बैठकमा प्रधानमन्त्रीको प्रस्ताव- संवैधानिक पदहरूमा सहमतिका साथ अगाडि बढौँ  

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

बालुवाटारमा मंगलबार बसेको विश्वासको मत दिने दलहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखलगायतमा सहमतिका साथ अघि बढ्न प्रस्ताव गरेका हुन् ।

सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने भन्दै प्रचण्डले संवैधानिक पदहरुको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेको नवनियुक्त सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्नेसमेत बताएका थिए । सो बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए ।

विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएकाले प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति लोकतान्त्रिक अभ्यास भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको प्रचण्डको भनाइ थियो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक रमेश लेखकले संवैधानिक पदहरुको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रधानमन्त्रीले प्रस्ताव गरेको जानकारी दिए । उनले कांग्रेसले प्रमुख प्रतिपक्ष भए पनि मिलेर जान सकिने धारणा राखेको बताए । सभामुखको विषयमा पार्टीभित्र आन्तरिक छलफल गरेर टुंगो लगाउने उनको भनाइ थियो  ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीलगायतले सरकारलाई विश्वासको मत दिने दलका नेताहरुले सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै सबलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थिति रहेको थियो ।


Published :३ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media