राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मतले निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेको कारणले तटस्थ बस्ने निर्णय गरेको बताए ।

पार्टी कार्यालय धुम्वाराहीमा बसको कार्यसम्पादन समितिको बैठकपछि उहाँले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँग हाम्रो फरक मत छ । त्यो आफ्नो ठाउँमा छ । तर, त्यो भन्दापनि राष्ट्रपतिलाई संविधानले संवैधानिक, सेरोमोनियल, अभिभावकीय, निष्पक्ष संस्थाको परिकल्पना गरेको छ ।’

अहिले उम्मेदवार बनेका दुवैजना सक्रिय राजनीतिमा रहेको उनले भनाइ थियो । उनीहरुबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न नसकिने समेत उनको भनाइ थियो ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।


Published :२४ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media