विभेद अन्त्य कार्यान्वयनको प्रक्रियालाई दृढतापूर्वक अगाडि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दलित समुदायमाथि हुने अपमान र विभेद अन्त्यका लागि कडा कानुन बनाउने र कार्यान्वयनको प्रक्रियालाई दृढतापूर्वक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रियसभामा पेश गरिएको छुवाछुत तथा जातीय विभेद विरुद्धको संकल्प प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सो दृढता व्यक्त गरेका हुन् । तर सामाजिक विभेद सम्बन्धि समस्याको समाधानको दीर्घकालीन उपाय भने आधुनिकतासहितको मुलुकको विकास र समृद्धि रहेको उनको भनाई थियो । प्रधानमन्त्री दाहालले जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन, संविधान कार्यान्वयनमा जोड दिने र विकास तथा समृद्धिको अभियानलाई पनि सँगै लिएर जाने दुवै काममा सरकार लागिपर्ने पनि बताए ।

विकासको कामले गति लिँदै जाँदा विभेद आफै कम हुँदै जाने प्रधानमन्त्री दाहालले बताए । उनले जातीय विभेद अन्त्यका लागि चेतनामूलक बहस, छलफल, विचार विमर्शको पनि मुलुकमा आवश्यक्ता रहेको बताए ।

प्रधानमन्त्री दाहालले जातीय विभेद अन्त्यका लागि कर्मचारीतन्त्र नै अझै तयार भइनसकेको तथ्यलाई पनि भुल्न नहुने बताए । हाम्रो व्यूरोक्रेसी, हाम्रो सुरक्षा संयन्त्र, हाम्रो समग्र समाजको लिडरसीपको दिमागमा दलितहरुलाई सम्मान गर्ने, न्याय दिने भन्ने कुरा धेरै राम्रोसँग नबसेको प्रधानमन्त्रीको दाबी थियो ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media