चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछानेले चुनाव जिते उपनिर्वाचन हुने बताएका छन् । आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन: उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरे ।
उनले सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको टिप्पणी गरे । गृहमन्त्री हुँदा लामिछानेले सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्का दिएको कुराले उनको चरित्र प्रष्ट भएको बताए ।
लामिछानेको भर्जिनिटी समाप्त भएको उनको भनाई छ । नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाँटेको बताए ।
नागरिकता प्रकरणमा लामिछाने दोषी देखिएपछि सर्वोच्च अदालतले उनको पद खारेज गरेको थियो । बैशाख १० गते चितवन-२ मा उपनिर्वाचन हुँदैछ । एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् ।