काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई भैरहवाबाट नियन्त्रणमा लिएर प्रहरीले काठमाडौं ल्याउँदै छ ।
अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका रायमाझीलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दावी छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा नेता रायमाझीलाई बुधबार पक्राउ पुर्जी जारी भएको थियो ।
रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ । सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई खोजी गरिरहेको छ भने उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् । अन्यको संलग्ना भए नभएको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।