काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिएका छन् ।
आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताए ।
उनले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रश्ताव गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे ।
उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे ।
उनले भने, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको बिद्रोह थियो । बिद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा बिद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन् । आज त्यस्तै अनुभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको बिरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि ।’
महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताए ।