काभा च्यालेन्ज कपः उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दै नेपाल तेस्रो

राष्ट्रपाटी न्युज

जेष्ठ १३, २०८०

काठमाडौं । उज्वेकिस्तानविरुद्ध ३–१ सेटको नतिजामा जित निकाल्दै नेपालले काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो स्थान हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेटमा जित निकाल्यो।

पहिलो सेट २०–२५ ले भ्रमणकारी उज्वेकिस्तानलाई सुम्पिएको नेपालले दोस्रो सेटमा २५–१६ को जित निकालेको थियो। खेलमा निरन्तर दबाब बनाउँदै गएको नेपालले तेस्रो सेट २५–१५ तथा चौथो सेट २५–१३ ले जित्यो ।

जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल समूह ‘ए’मा भारत, किर्गिस्तान र बंगलादेशसँग परेको थियो। समूह चरणमा भारतसँग मात्रै पराजित नेपाल समूह उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा कजाकस्तानसँग २–३ को नतिजामा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्ससमेत रहेको समूह ‘बी’बाट कजाकस्तान समूह विजेता तथा उज्वेकिस्तान उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो। आजै हुने फाइनलमा भारत र कजाकस्तान उपाधिका लागि भिड्दै छन् ।


Published :जेष्ठ १३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media