काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टहरुले अहिले भ्रष्टाचार विरोधी अभिनय गरिरहेको बताएका छन् ।
मंगलबार नेकपा एमाले वाग्मती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनतालाई भ्रम छरेर केही बेर वाही वाही कमाए पनि त्यो भित्तामा हानेको भकुण्डो आफैँतिर लागे जस्तै हुने अध्यक्ष ओलीको भनाइ थियो ।
नेकपा एमाले अभियानभन्दा माथि उठेर देश र जनताको हित प्रति निष्ठावान् भएर लाग्नु पर्ने ओलीले बताए ।
नेकपा एमाले उच्च मनोबलका साथ सुन्दर भविष्यतर्फ अघि बढेको बताएका छन् ।
अध्यक्ष ओलीले एमालेका अगाडि केही चुनौती भए पनि यस्ता धेरै चुनौती र व्यवधान देखेर र पार गरेर आएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीलाई राणा, कांग्रेस र पञ्चायतले उठ्नै नदिने गरी विभिन्न खालका प्रतिबन्ध लगाउँदा पनि कम्युनिष्ट पार्टी सबै कुरा छिचोलेर आएको उनले स्पष्ट पारे । बहुदल प्राप्ति पछि पनि एमालेलाई उठ्न नदिन कांग्रेसले एकै पटक ३० हजार कार्यकर्तालाई मुद्दा लगाएको ओलीले बताए ।
घरैभित्र सर्प पालेको कारण उनीहरूले डस्न खोजेका भए पनि कार्यकर्ताले अलिअलि धुवाँ लगाइदिँदा उनीहरू भागेका भन्दै ओलीले माधव नेपाल र झलनाथ खनालप्रति व्यङ्ग्य गरे ।
गएको निर्वाचनमा वाग्मती प्रदेशमा एमालेको राम्रो परिणाम नआएको बताउँदै ओलीले नेता, कार्यकर्तामा खटाइको कमी भएकै कारण सो परिणाम आएको बताए । अब त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको उनले प्रष्ट पारे ।