काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासले कोसी सरकारविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै ७ दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई आदेश दिएको हो ।
यस्तै सर्वोच्चले संविधानको धारा १६८ को उपधारा २ अनुसार पुन :सरकार गठन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङगलाई आदेश दिएको छ ।
सभामुख सरकार गठनमा सहभागी हुन नपाउने ठहरसहित सर्वोच्चले कोसी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति समेत बदर गरिदिएको छ । कोसीमा थापालाई मुख्यमन्त्री बनाउँदा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका थिए। त्यसपछि कोसीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो ।