काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन् ।
शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताएका हुन् ।
उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशिय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए । उनले यी विषयहरुमा यतिका दिनसम्म अनुसन्धान हुन नसक्ने गम्भिर विषय भएको बताए । उनले यस प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताए ।
उनले सुन तस्करी प्रकरणमा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत जोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताए । प्रहरीले मिडिया ट्रायल गरिरहेको उनको भनाई छ ।
सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताए । उनले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालिन प्रधानमन्त्रीहरुलाई छानबिन नगरिएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गरे ।