बूढानीलकण्ठ।नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं १२ ले यहि मंसिर ३० गते दोश्रो वडा अधिवेसन गर्दै छ। बूढानीलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्य पहिलो वडा अधिवेशन गर्न लागेको वडा कमिटीले अधिवेशनको तयारीका क्रममा छलफल र बैठकलाई तीव्रता दिएको हो।
अधिवेसन हुन केहि दिन मात्र बाँकी रहँदा माथिल्लो कमिटीका नेताहरुको उपस्थितिमा वडास्तरीय छलफलको आयोजना गरेर नेतृत्व चयनलाई बहसमा ल्याइएको छ। नेकपा एमालेको मजबुत संगठन रहेको वडाका रुपमा पहिचान बनाएको वडा नं १२ मा गणतन्त्रको स्थापनापछि भएका दुवै स्थानीय निर्वाचनमा नेकपा एमालेले प्यानल सहित जितेको छ ।
बुढानीलकण्ठ १२ स्थित इभर साइन पार्टी प्यालेसमा मंसिर ३० गते बिहान १०.३० बजे देखि शुरु हुने उद्धघाटनपछि सोहि दिन बन्द सत्र मार्फत नेतृत्वको विषय टुङ्गिने छ ।
यसैबीच उक्त अधिवेशन मार्फत नेतृत्व लिनका लागि आधा दर्जन भन्दा धेरै आकांक्षीहरुले दावी गरेका छन्। एमालेको पकड क्षेत्र तथा एकताको संदेश दिने वडा भएको भन्दै धेरैले नेतृत्वको दावी गरेका छन्। अध्यक्षको दावी गर्नेहरुमा बर्तमान अध्यक्ष शंकर भट्टराई ,उपाध्यक्ष राजेन्द्र पुडासैनी, सचिव विष्णु भट्टराई तथा उपसचिव खडानन्द लुइटेल रहेका छन्। त्यसैगरी बूढानिलकण्ठ नगर कमिटि सदस्य एबम वडा इन्चार्ज देवेन्द्र थापा ,बाबुराम चौलागाईं एबम शुसिला ढुंगेल समेत नेतृत्वको दावेदारका रुपमा रहेका छन्।
ओखलढुंगा र सिन्धुपाल्चोक क्षेत्रका मानिसहरुको अत्याधिक बसोबास रहेको यस वडामा यी दुइ भेगको उम्मेदवारी र सहमति अत्यन्त महत्वपूर्ण मानिन्छ। अहिले अध्यक्षमा चुनिने व्याक्ति नै आगामी स्थानीय निर्वाचनमा वडाध्यक्षको समेत उम्मेदवार हुनसक्ने सम्भावना भएकाले धेरैको नजर यो अधिवेशनमा केन्द्रित भएको एकजना एमाले कार्यकर्ताको भनाइ छ ।