परीक्षा केन्द्र खर्च भन्दै प्रधानाध्यापकबाट विद्यार्थीसँग रकम असुली

राष्ट्रपाटी न्युज

चैत्र १०, २०८०

सिरहा ।  सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि  गरेको पाइएको छ।

अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच हजारसम्म परीक्षा केन्द्र खर्च असुल गरेको पाइएको हो।

परीक्षाको प्रवेशपत्र लिन पुगेका विद्यार्थीहरुसँग प्रधानाध्यापक यादवले परीक्षा खर्च बापत एक हजार देखि पाँच हजार सम्म लिएर प्रवेश पत्र दिइएको विद्यार्थीहरुले बताए। प्रवेशपत्र लिन गएका विद्यार्थीले हामीले तिर्नुपर्ने सवै रकम तिरिसकेका छौं। अब के को पैसा चाहिएको हो? भनि प्रधानाध्यापकलाई सोध्दा प्रधानाध्यापकले परीक्षा खर्च चाहिन्छ भन्दै हजार रुपैयाँको दरले असुलेको उनीहरुले बताए।

प्रधानाध्यापक यादवले परीक्षा खर्चको नाममा रकम लिनै नमिल्ने जिकिर गरेपनि आफैले विद्यार्थीले तिर्नुपर्ने रकम बाँकी रहेकाहरुसँग लिएको हुन सक्ने बताए। बिद्यार्थीहरुबाट रकम आफ्नो नामको खातामा किन हाल्न लाउनु भयो ? भनि प्रश्न गर्दा प्रधानाध्यापक यादव अलमलिंदै यस विषयमा भेटेरै कुरा गरौंला भन्दै फोन काटे।

 

यस विद्यालयबाट यो पटकको एसईई परीक्षामा ७६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक यादवले जानकारी दिए। यो विद्यालयको परीक्षा केन्द्र विष्णुपुर गाउँ पालिकाको गौरीपुर माध्यमिक विद्यालयमा परेको छ।

संस्थागत विद्यालयहरुले विद्यार्थीबाट सेन्टरखर्चको नाममा रकम लिने गरेको चर्चा पहिला देखि नै चल्दै आएको हो। यस पटक सामुदायिक विद्यलयले पनि परीक्षा केन्द्र खर्चको नाममा विद्यार्थीसँग अनाधिकृत रकम असुलि गरेको खुलेको छ।


Published :चैत्र १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media