विपक्षी दलले सरकारलाई ज्ञापनपत्र बुझाउँदै

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।

काठमाडौँमा शुक्रवार बसेको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ।

माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिए। ‘खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको छ’, नेता बस्नेतले भने।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media