काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार मसान्तसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
समिति सदस्य एवम् केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रियाशील सदस्यता नवीकरण आगामी असार मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको जानकारी दिए । ‘आगामी असार मसान्तसम्म नवीकरण गरी सक्ने निर्णय भएको छ,’ उनले खबरबहसँग भने, ‘नवीकरण नगरेमा सिस्टम अटोलक हुन्छ हाम्रो केन्द्रमा ।’
केन्द्रीय सदस्य रसाइलीले ७७ वटै जिल्लामा प्राविधिक राखेर नवीकरणको तथ्यांक प्रविष्ट गर्ने काम भइरहेको पनि बताए । समितिले आगामी साउन १ गतेबाट नयाँ सदस्यता वितरण अघि बढाउने निर्णय गरेको छ ।
‘साउन १ गतेबाट हामी समावेशी, दलित, महिला, मधेशीलाई महत्वपूर्ण प्राथमिकता दिएर स्थानीय, प्रदेश र संघको निर्वाचनमा सम्बन्धित वडा, क्षेत्र, पालिकामा पाएको मतका आधारमा उच्च प्राथमिकताका साथ नयाँ क्रियाशील सदस्यता बाँड्छौँ,’ रसाइलीले भने ।