उपल्लो मुस्ताङको लोमान्थाङमा तिजी पर्वको रौनकता

राष्ट्रपाटी न्युज

जेष्ठ ११, २०८२

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा सदियौँदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्व तिजी शुरु भएको छ। उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्वका रूपमा लिइन्छ।

उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ साँस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ शुभारम्भ गरिएको हो। तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ।

तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना  लगाउने गर्छन्। तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ।

उपल्लो मुस्ताङमा तिजी पर्व तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। ‘तिजी पर्व एक किसिमको धार्मिक पूजा नै हो, तर यो धार्मिक पूजालाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेको हो’, उनले भने, ‘उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आएको हो।’

तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालामा शुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले जानकारी दिए। गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्रौँ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालामा शुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ।

पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र शुरु हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाउनुभयो। त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना सङ्क्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङले बताए।

लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रूपमा सञ्चालन हुने गर्छ। त्यस अवधिमा तीन दिनसम्म बिहान ६ः०० देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ। यसरी पूजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगब्याधी र अनष्टि नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामाना गर्न नपरोस्, सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरूले सामूहिक पूजा गर्ने प्रचलन रहेको लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिए।

यसैगरी तिजी पर्वको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी साँस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ। यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाए। तिजी पर्वको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन छ।

यसरी बज्रकिलया र महाकाल देवताको दुरुस्तै हुनेगरी मुकुट पहिरिएर नृत्य अभ्यास प्रर्दशन गर्ने गरिएको छ। लोमान्थाङमा आयोजित लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्व तिजीको अन्तिम दिन तीन दिनसम्म पूजामा रािखएको तोर्म गाउँबाहिर लगेर बिर्सजन गरेपछि तिजी पर्व समापन भएको संकेत गरिन्छ। यसरीमा पुजामा राखिएको तोर्म बिर्सजन गर्नुअघि कुन दिशमा लगेर विसर्जन गर्ने हो त्यसको लामाहरुले पुजा गरेपछि निक्र्योल गरिन्छ। तार्म बिर्सजन गर्दा मुस्ताङी राजपरिवार ,गाउँका भद्रभलाद्मी,लामाहरू र स्थानीय गाउँले मिलेर गाउँ बाहिर लगेर फ्याकिँन्छ।

यसअघि तिजी पर्व शुरु हुँदा लोमान्थाङ स्थित मुस्ताङी साँस्कृतिक राजाको दरबारमा राखिएको  दुई तला ठुलो करिब ३० फुट लामो गुरु पद्मसम्भवको लुङ्ता बाहिर निकालेर लामाहरूले नृत्य अभ्यास गर्ने स्थान नजिकै झुण्ड्उने गरिन्छ। गुरु पद्म सम्भवको ठूलो आकारको लुङ्ता वर्षको एक पटक मात्रै तिजी पर्वको बेला सार्वजनिक गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छिमी गुरुङले जानकारी दिइन् ।


Published :जेष्ठ ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media