काष्ठमण्डप विद्यालयका विद्यार्थीहरूद्वारा नगर प्रमुख अधिकारीसँग अन्तरक्रिया

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८२

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको काष्ठमण्डप विद्यालयका विद्यार्थीहरूले आज बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीसँग अन्तरक्रिया गरी नगरपालिकाको भूमिका, कार्यप्रणाली र शिक्षाको क्षेत्रमा नगरपालिकाले निर्वाह गर्ने भूमिकाबारे जानकारी लिएका छन् ।

उक्त अवसरमा विद्यार्थीहरूले नगरपालिकाले स्थानीय विकासका लागि कसरी काम गर्छ, योजनाहरू कसरी बनाइन्छ, बजेट व्यवस्थापन र शिक्षा, स्वास्थ्य जस्ता बुनियादी सेवाहरूमा नगरपालिकाको भूमिकाबारे प्रश्नहरू राखेका थिए । मेयर अधिकारीले विद्यार्थीहरूको जिज्ञासाबाट प्रभावित भएर सवालहरूको विस्तृत जवाफ दिएका थिए ।

“नगरपालिका स्थानीय स्तरमा नागरिकहरूको आवश्यकताअनुसार योजना बनाउँछ र कार्यान्वयन गर्छ। शिक्षाको क्षेत्रमा पनि विद्यालयहरूको विकास, छात्रवृत्ति, शैक्षिक सामग्री उपलब्ध गराउन हामी सक्रिय छौं। तपाईंहरू जस्ता होनहार विद्यार्थीहरू नै देशको भविष्य हो।” नगर प्रमुख मिठाराम अधिकारीले भनेका थिए।

कार्यक्रममा विद्यालयका शिक्षकहरूले पनि नगरपालिकासँग शैक्षिक सहयोग बढाउन आवश्यकता रहेको बताएका थिए । यस अन्तरक्रियाबाट विद्यार्थीहरूले स्थानीय सरकारको कार्यप्रणाली र जिम्मेवारीबारे प्रत्यक्ष ज्ञान प्राप्त गरेको बताइएको छ ।

कार्यक्रममा शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिंह, शिक्षा अधिकृत अनिता खनाल, प्रशासकीय अधिकृत महेश पाठक लगायत बिधार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।


Published :जेष्ठ १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media