बुढानीलकण्ठ नगर युवा परिषद्वारा आयोजित राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप सम्पन्न

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्वारा आयोजित प्रथम राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न सो प्रतियोगितामा झापाका रिसोन थापाले अपराजित प्रदर्शन गर्दै पुरुषतर्फ उपाधि चुमे। उनले ९ चरणको खेलमा सबै खेल जित्दै ९ अंकका साथ ४० हजार रुपैयाँ नगद, ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र जिते।

उक्त प्रतियोगितामा हालै श्रीलंकामा सम्पन्न एसियाली चेस च्याम्पियनसिपमा रजत पदक जितेका सीएम पुरुषोत्तम सिलवालले ८ अंकसहित दोस्रो स्थान हासिल गर्दै २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। तेस्रो स्थानको लागि कडा प्रतिस्पर्धाबीच प्रतिक सुवेदीले ७ अंक र प्रोग्रेसिभ प्वाइन्टको आधारमा अगाडि रहँदै १० हजार रुपैयाँ नगद जित्न सफल भए।

ललितपुरका अविक शाहले पनि ७ अंकसहित प्रोग्रेसिभ प्वाइन्टमा चौथो स्थान प्राप्त गर्दै ७,५०० रुपैयाँ नगद हात पारे भने काठमाडौँका अग्रिम सैजुले पाँचौं स्थानमा रहँदै ५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

महिला (छात्रा) तर्फको उपाधि काठमाडौँकी रिया श्रेष्ठले अपराजित यात्रा सहित जितिन्। उनले ७ चरणमा ५ जित र २ बराबरी खेल्दै कुल ६ अंकसहित ४० हजार रुपैयाँ नगद, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र जितेकी छिन्। बाँकेको ईशा गिरीले ५.५ अंक र ३३ टाइब्रेक प्वाइन्ट जोड्दै द्वितीय स्थान हासिल गरिन् र २५ हजार रुपैयाँ नगद, सिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरिन्।

तेस्रो स्थानमा दक्षिणकाली नगरपालिकाकी एन्जल महर्जनले ५.५ अंक र ३१ टाइब्रेक प्वाइन्टका आधारमा स्थान बनाउँदै १० हजार रुपैयाँ नगद, ब्रोन्ज मेडल र प्रमाणपत्र हात पारिन्। यस्तै, काठमाडौँकी दानिसा पुरी ५.५ अंकसहित २७.५ टाइब्रेक प्वाइन्टमा सीमित रहँदै चौथो स्थानमा रहिन् र ७,५०० नगद पुरस्कार प्राप्त गरिन्। पाँचौं स्थानमा उभिएकी प्रिसियस अधिकारीले ५ अंक जोड्दै ५ हजार रुपैयाँ नगद जितेकी छन्।

प्रतियोगितामा उमेर समूहगत विधातर्फ पनि विजेताहरू सम्मानित गरिए। छात्रतर्फ यू-८ मा शुभाङ्ग प्रधान, यू-१० मा आस्विक पोखरेल, यू-१२ मा समृद्ध श्रेष्ठ, यू-१४ मा ओस्कार पन्थी, यू-१६ मा आद्यान्त काफ्ले र यू-१८ मा युनिक गौतमले पुरस्कार जिते। छात्रातर्फ यू-१० मा अग्रता आचार्य, यू-१२ मा निहाना श्रेष्ठ, यू-१४ मा नेलिसा ओझा, यू-१६ मा ओजस्वी श्रेष्ठ र यू-१८ मा ग्लोसी श्रेष्ठ विजयी घोषित भए।

समापन तथा पुरस्कार वितरण कार्यक्रम त्रिज्योति स्कुलमा संयोजक दीपक तामाङको सभापतित्वमा सम्पन्न भयो। समापन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। सो अवसरमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपप्रमुख अनिता लामा, वडा नं. १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई, तथा सामाजिक विकास समितिका संयोजक शान्ता ढकाल पुडासैनीको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताले नेपाली चेसको भविष्य उज्यालो बनाउने आशा गरिएको छ।


Published :असार १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media