काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिनाको देश र आफूविनाको एमाले चाहनेहरूको चाहना कहिल्यै पूरा नहुने बताएका छन् ।
आइतबार झापामा आयोजित एमाले जिल्ला कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले भने, “एमालेबिनाको देश र केपी ओलीविनाको एमाले होस् भन्ने चाहना राख्ने प्रतिक्रियावादीहरूको सपना कहिल्यै पूरा हुँदैन।”
उनले पार्टीभित्र रहँदा जिम्मेवारी र लाभ लिएका केही नेताहरूले स्वार्थका लागि पार्टी फुटाउने र कमजोर पार्ने षड्यन्त्र गरेको आरोप लगाए। “तर पनि कार्यकर्ता र जनताको साथले एमालेलाई बचाएर फेरि एक बलियो राष्ट्रिय शक्ति बनाइएको हो,” उनले थपे।
ओलीले एमाले एक सानो स्वार्थ बोकेको पार्टी नभई देश बनाउने महान उद्देश्यसहितको पार्टी भएको बताए। पार्टीभित्र र बाहिरबाट भइरहेको षड्यन्त्रलाई चिर्दै सच्चा नीतिको पक्षमा अडिन कार्यकर्तालाई आग्रह गरे।
“एमालेविरुद्ध बुनिएका जाल सफल हुँदैनन्। माकुरोको जालोमा भैंसी पर्दैन,” भन्दै उनले एमालेविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति सचेत रहनु पर्ने बताए।
प्रधानमन्त्री ओलीले आफू र पार्टीले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै भने, “केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी रास्वपाजस्तो मुद्दा परेपछि बच्न हस्ताक्षर संकलन गर्ने काम गर्दैनौं।”
उनले एमाले बाहेक अरूले देश बनाउन नसक्ने प्रष्ट पारे। आफू प्रधानमन्त्री भएपछि फलाम खानी, पेट्रोलियम उत्खनन, सुरुङमार्गजस्ता विकास योजनाहरूको थालनी भएको र तिनको परिणाम देखिन थालेको पनि उल्लेख गरे।
स्पेन भ्रमणका सन्दर्भमा ओलीले केही विपक्षीहरूले वाईसीएल प्रयोग गरी भ्रमणमा अवरोध पुर्याउने प्रयास गरेको आरोप पनि लगाए।