काभ्रेका भुम्लुवासीलाई ५० वर्षपछि लालपुर्जा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण शुरु गर्नुभएको हो।

विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए। प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ। मंगलबार वडा नं ७ का १८५ र वडा नं ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ।

यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो। काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाको पहलमा २०७६ मंसिर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालय खोलेका थिए।

कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपुर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानबिन गरी लालपूर्जा बनाउन बाँकी छ। कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नं ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए।

साबिकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतीयोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो। तत्कालीन समयमा खेतीयोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो। २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन। २०३५ मा पनि काम हुन नभएपछि स्थानीयले जग्गाको लालपुर्जा पाउन सकेका थिएनन् ।


Published :भदौ ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media