गोरखामा भीरबाट खसेर दुईजनाको मृत्यु

गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुईजनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६, धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो ।

चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एकसय मिटर तल स्यारखोलामा खसेर उनीहरूको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए । “आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराउनुभएको थियो, उनको शव आज बिहान गाउँलेले भेटेका थिए,” उनले भने ।

रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर खोलातर्फ जाने क्रममा बिहीबार बिहान ९ बजेतिर सोही ठाउँबाट खसेर हिसेदोर्जेको मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।


Published :भदौ ५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media