
बुढानिलकण्ठ। भाद्र २३ र २४ गतेको Gen-Z आन्दोलन पछि बुढानिलकण्ठ नगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ। यहि भाद्र ३१ गते मंगलवारका दिन Gen-Z आन्दोलन, यसको प्रभाव र आगामी रणनीतिका सम्बन्धमा छलफल गरि विभिन्न दश वटा निर्णयहरु गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अनिता लामा- नगर उपप्रमुख, अजय बतौला- प्रमुख प्रशासकीय अधिकृत, प्रदीप डंगोल- नेकपा एमाले, राजाराम बुढाथोकी – नेपाली कांग्रेस, भाइनारायण श्रेष्ठ- नेकपा माओवादी , कमल श्रेष्ठ- रा.प्र.पा.,राधा शाह- रास्वपा , बाबुराजा श्रेष्ठ – माओवादी केन्द्र, निरञ्जन नेपाल – एकीकृत समाजवादी, बसनारायण महर्जन – वडाध्यक्ष, वडा नं ७ ,रवी खड्का – वडाध्यक्ष, वडा नं ६,नवराज भट्टराई , नगर प्रवक्ता, श्रीराम के.सी. वडाध्यक्ष, वडा नं.४ , महेश प्रसाद पाठक- प्रमुख, प्रशासन महाशाखा,अजित घिमिरे- प्रमुख, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा,बद्रि कुमार खत्री- स्थानीयको उपस्थिति रहेको थियो।
उक्त बैठकले बुढानीलकण्ठ नगरपालिकाभित्र अराजक गतिविधिको विषयमा सत्यतथ्य छानविन गरी संलग्न व्यक्तिहरु तथा घटनाको Digital Footage सङ्कलन गरी प्रहरीलाई कारबाहीको लागि सहयोग गर्न सर्वदलीय समिति गठन गर्ने निर्णय गरेको छ।
उक्त सर्वदलीय बैठकले निम्न निर्णयहरु गरेको छ।
१. सम्वत् २०८२ साल भाद्र महिनाको ३० गते सम्पन्न भएको बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिकाको बैठकका निर्णयहरुको स्वागत गर्ने निर्णय गरियो ।
२. गत भाद्र २३ र २४ गते भएको Gen-Z आन्दोलनमा मृत्युवरण गर्नुभएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा उपचाररत घाईतेहरुको सिघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरियो ।
३. भदौ २३ र २४ गतेको Gen-Z आन्दोलनमा छिरेर अराजक गतिविधिमा संलग्न जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता लगायतका अराजक तत्वहरुप्रति खेद प्रकट गर्ने निर्णय गरियो ।
४. नगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक संरचना तथा कार्यालयहरु, जनप्रतिनिधिहरु लगायत नगरवासीको निजी सम्पत्तिको तोडफोड तथा आगजनी र लुटपाटमा संलग्नलाई यथासिघ्र कानूनी कारवाहीमा ल्याउन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्ने निर्णय गरियो । ५. नगरपालिकाभित्र रहेको सरकारी/सार्वजनिक संरचना / सम्पत्तिहरुको संरक्षण गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण नगरवासीहरु, राजनीतिकर्मीहरु, नागरिक समाज लगायतलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।
६. नगरपालिकाभित्रका सार्वजनिक संरचना/सम्पत्तिहरु, व्यक्तिगत संरचना/सम्पत्तिहरु संरक्षणको कार्यमा नगरभित्र क्रियाशील हामी राजनीतिक दलहरु एकजुट रहने, नगरपालिकाले चाल्ने सकारात्मक कदमहरुमा दृढताका साथ समर्थन र सहयोग गर्ने निर्णय गरियो ।
७. नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धमा Gen-Z युवा पुस्ताहरुसँग समेत छलफल गरी Feedback लिई निरन्तर सुधार गर्दै नगरपालिकालाई युवापुस्तासँग जोड्ने निर्णय गरियो ।
८. बुढानीलकण्ठ नगरपालिकाभित्र अराजक गतिविधिको विषयमा सत्यतथ्य छानविन गरी संलग्न व्यक्तिहरु तथा घटनाको Digital Footage सङ्कलन गरी प्रहरीलाई कारबाहीको लागि सहयोग गर्न सर्वदलीय समिति गठन गर्ने निर्णय गरियो ।
९. बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा सबै दलको सहभागितामा संविधान दिवस – २०८२ (असोज ३ गते) मनाउने निर्णय गरियो ।
१०.भदौ २३ र २४ गतेको Gen-Z आन्दोलन पछिको असामान्य परिस्थितिको फाईदा उठाई दैनिक उपभोग्य समाग्रीमा भएका अस्वभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न तथा आगोले पोलेका नोटहरु चलनचल्तिमा आएको भेटिए नगरपालिका कार्यालय लगायतका सम्बन्धित निकायमा खबर गर्न गराउनुहुन सम्पूर्ण नगरवासीमा अनुरोध गर्ने निर्णय गरियो ।