इलाम पहिरोः मृत्यु हुनेको संख्या २१ पुग्यो, अझै धेरै जना सम्पर्कविहीन

राष्ट्रपाटी न्युज

अशोज १९, २०८२

काठमाडौं । इलाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको छ। अबिरल वर्षापश्चात शनिबार राति गएको पहिरोमा परी इलाममा एकै परिवारको ६ जनासहित २१ जनाको मृत्यु भएको हो।

घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा फसेकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार, प्रभावित क्षेत्रमा उद्दार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू खटिएका छन्। “सडक अवरुद्ध उद्धार टोली पुग्न र राहत सामग्री पठाउन पनि समस्या भइरहेको छ।” उनले भने, “घटनास्थल अत्यन्तै विकट स्थानमा परेपनि हेलिकप्टरमार्फत उद्धार जारी छ।”

पीडितहरूमध्ये धेरै जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रवक्ता पोखरेलले मौसम अझै प्रतिकूल रहेको हुँदा सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे। विशेषगरी इलामको माईजोगमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङ्सेबुङलगायतका पालिकामा ठूलो क्षति भएको छ। लगातार वर्षाका कारण मेची राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध भएको छ। इलाममा ठूलो जनधनको क्षति भएको बताइएको छ।


Published :अशोज १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media