
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले निवर्तमान महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ। आज बसेको बैठकले आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी रोक लगाउने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
खापुङ आजदेखि सेवाबाट निवृत्त भएपछि नयाँ आइजी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन्।
नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने’ विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित निकाय र खापुङलाई समेत आजै पत्राचार गरेर जानकारी दिने निर्णय भएको शर्माले बताए।
