
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।
यसैबिच धुर्व प्रसाद भट्टराईले महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। राष्ट्रपाटीसंग कुराकानी गर्दै उनले आफ्नो पक्षमा सहमति नभए चुनावी प्रक्रियामा जाने बताएका छन्। उनले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिन आफू तयार रहेको बताएका छन्।
पार्टीको नेतृत्वमा अब केपी वलीको बिकल्प खोजिनुपर्ने उनको भनाइ छ। केपी वलीको बिकल्पमा जसले उम्मेदवारी दिन्छ, त्यसकै पक्षमा आफुले समर्थन गर्ने उनले बताएका छन्।
२०५१ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका भट्टराईले २०५१ देखि २०५८ सम्म काठमाडौं महानगरपालिका वडा नं ७ को उपसचिवको जिम्वेवारी बहन गरिसकेका छन्।
विगतमा नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को क्षेत्रीय सदस्यमा निर्वाचित भएर वडा इन्चार्जको जिम्मेवारी बहन गरिसकेका भट्टराई बुढानिलकण्ठ नगर कमिटीको सदस्य तथा वडा नं १० को इन्चार्ज समेत रहिसकेका छन् भने जिल्ला विभागको सचिवको रुपमा समेत भूमिका खेलेका छन्।