३ दिने बुढानीलकण्ठ सडक खाना महोत्सव सम्पन्न

बुढानीलकण्ठ। बुढानीलकण्ठ सडक खाना महोत्सव पौष २५ देखि २७ गतेसम्म सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ६० वटा स्टलमार्फत रैथाने तथा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध खाजाहरू प्रस्तुत गरिएको बुढानीलकण्ठ पर्यटन बोर्डले जानकारी दिएको छ।

महोत्सवलाई सफल बनाउन बुढानीलकण्ठको पर्यटन व्यवसायका गौरवका रूपमा स्थापित लेमन ट्री, होलिडे इन, पार्क भिलेज, ग्रिन भ्याली रिसोर्ट र रोयल भिल्ला जस्ता प्रतिष्ठित होटलहरूको सहकार्य रहेको थियो। यस्ता प्रतिष्ठानहरूको सहभागिताले कार्यक्रमको स्तर, व्यवस्थापन र आकर्षणलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र संयमित बनाउन बुढानीलकण्ठ नगर प्रहरी, बुढानीलकण्ठ नगर स्काउट तथा स्वयंसेवक टोलीले  जिम्मेवारी निर्वाह गरेका थिए। साथै, यातायात व्यवस्थापनका लागि बुढानीलकण्ठ यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको  मेहनतले महोत्सव सञ्चालनमा सहजता आएको थियो।

महोत्सवको समापन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री  जयराम थापा लगायत विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरू तथा विभिन्न स्थानबाट आएका नागरिक समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि, महोत्सवको उद्घाटन कार्यक्रम पहिलो दिन वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको अन्त्यमा समापनको औपचारिक घोषणा गर्दै सामूहिक फोटोसेसन गरिएको थियो। बुढानीलकण्ठ सडक खाजा महोत्सवले स्थानीय परिकारको प्रवर्द्धन गर्दै संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा गरिएको बताइएको छ।


Published :पुस २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media