बुढानीलकण्ठमा श्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा श्रमको सम्मान, राष्ट्रको अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगारीका क्षेत्रमा न्यूनतम मानवीय मर्यादालाई कायम राख्न काम र श्रमिकप्रतिको धारणामा व्यवहारिक परिवर्तन ल्याउने उद्देश्यका साथ वडा स्तरमा नै गएर सञ्चालन गरिएको बताइएको छ ।

कार्यक्रममा बेरोजगार, रोजगार, श्रम, मर्यादित श्रम, श्रमका सम्बन्धमा बुढानीलकण्ठ नगरपालिकाको प्रयास, श्रमको सम्मान, राष्ट्रको अभियान रणनीति-२०७८ लगायत श्रमको सम्मान सम्बन्धी विविध विषयमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको छ । त्यस्तै सहभागीहरुका अनुभव समेत सुनी उनीहरुको जिज्ञासालाई पनि समाधान गर्ने प्रयास गरिएको छ भने काम सानो ठूलो नहुने हुँदा आफ्नो काम प्रतिको अपमान नसहने र कसैलाई पनि कामको आधारमा अपमान नगर्ने विषयमा प्रतिबद्धता समेत जनाइएको छ ।

नगरपालिकाभित्रका वडाहरुमा श्रमिक, बेरोजगार, युवा लगायतका सरोकारवालाहरुसँग फरक-फरक मितिमा आयोजना गरिएको उक्त १ दिने अभिमुखीकरण कार्यक्रम आज सञ्चालन गरिएको वडा नं. २ को कार्यक्रमसँगै सम्पन्न भएको हो । नगरपालिकाभित्रका १३ वटा वडाहरुमध्ये ३ वटा वडामा गत आर्थिक बर्षमा र बाँकी रहेका १० वटा वडामा यस आर्थिक बर्षमा सञ्चालन गरिएसँगै सबै वडाहरुमा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बुढानीलकण्ठ नगरपालिकाका रोजगार संयोजक राजीव गौतमले जानकारी दिएका छन् ।


Published :माघ २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media