बुढानीलकण्ठ स्वास्थ्य चौकीमा २ दिने विशेष महिला स्वास्थ्य शिविर सम्पन्न

राष्ट्रपाटी न्युज

फाल्गुन ६, २०८२

बुढानीलकण्ठ । २०८२ साल फागुन ४ र ५ गते नेपाल परिवार नियोजन संघ, काठमाडौंको प्राविधिक सहयोग तथा बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा २ दिने निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर बुढानीलकण्ठ स्वास्थ्य चौकी, घुम्ती, वडा नं. ३ मा सञ्चालन गरिएको थियो।

शिविरमा अब्स्टेट्रिक फिस्टुला, आङ खस्ने समस्या (पेल्भिक अर्गन प्रोलाप्स), पाठेघरको मुखको क्यान्सर (VIA परीक्षण), बाझोपन लगायतका समस्याहरूको एकीकृत पूर्व परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। बिहान १०:३० बजेदेखि बेलुका ४:०० बजेसम्म सञ्चालन गरिएको शिविरमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उप-प्रमुख अनिता लामा, वडा न ३ का वडाध्यक्ष आकाश धिताल,प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, वडा सदस्य बालमाया श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो।

शिविरको पहिलो दिन १०५ जना महिलाले VIA परीक्षण गराएका थिए भने दोस्रो दिन १५० जना महिलाले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। दुई दिनमा गरी कुल २७० जना महिलाले सेवा लिएको जनस्वास्थ्य महाशाखाले जनाएको छ।

यस प्रकारका कार्यक्रमले महिलाहरूमा देखिने प्रजनन स्वास्थ्यसम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ। स्थानीय तहबाट यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


Published :फाल्गुन ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media