
काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२ (Municipal Excellence Award 2082)’ प्राप्त गर्न सफल भएको छ। सहरी योजना र पूर्वाधार विकास क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको भन्दै नगरपालिकाले उक्त पुरस्कार प्राप्त गरेको बताइएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा गरिएको समग्र कार्यसम्पादन, व्यवस्थित सहरी विस्तार, गुणस्तरीय सडक सञ्जाल, सार्वजनिक पूर्वाधारको विस्तार, वातावरणमैत्री योजना र सेवाप्रवाहमा सुधार लगायतको उच्च मूल्याङ्कन गर्दै नेपाल नगरपालिका संघ (MUAN) ले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा उक्त सम्मान प्रदान गरेको हो।
काठमाडौंमा आयोजित विशेष समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला उपस्थित भई पुरस्कार ग्रहण गरेका थिए । कार्यक्रममा देशभरका नगरपालिकाका प्रतिनिधि, सहरी विकासका विज्ञ, नीति निर्माता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
