
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदाधिकारीविरुद्ध दायर मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार (चैत २२) अन्तिम सुनुवाइको तयारीस्वरूप प्रमाण मिसिल झिकाउन आदेश दिनु भएको हो। संगठित गिरोहमार्फत नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपसहित दायर मुद्दामा आवश्यक कागजात संकलनका लागि उक्त आदेश गरिएको जनाइएको छ।
उक्त मुद्दामा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा का सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतविरुद्ध आरोप लागेका छन्।
त्यसैगरी, बिचौलियाको आरोप लागेका केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मा सहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ।
अदालतले अन्तिम सुनुवाइ प्रयोजनका लागि आवश्यक प्रमाण संकलन प्रक्रिया अगाडि बढाएको जनाएको छ।