रास्वपाको प्रशिक्षणमा सांसदको उपस्थिति न्यून, नेतृत्व असन्तुष्ट

राष्ट्रपाटी न्युज

बैशाख २६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा पार्टीका १८२ जना सांसद रहने अपेक्षा गरिए पनि धेरै कम सांसद मात्र सहभागी भएको देखिएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै पराजुलीले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई अपेक्षित महत्व नदिएको उल्लेख गर्दै यस्ता गतिविधिमा सहभागी नहुनु संसदीय भूमिकाबाट विमुख हुने संकेत भएको बताए । उनले प्रशिक्षणलाई औपचारिक कार्यक्रम मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले सांसदहरूको अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्व अत्यावश्यक रहेको उल्लेख गर्दै “अब राजनीति केवल नाराले होइन, क्षमता, अध्ययन र परिणामले चल्ने समय आएको” बताए ।

जनताले अब “कसले के भन्यो” भन्दा “कसले के गर्‍यो” भन्ने आधारमा मूल्यांकन गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो। पराजुलीले पार्टीले आयोजना गरेका यस्ता प्रशिक्षण कार्यक्रमलाई बेवास्ता गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै यसबारे पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिए । उनले पार्टीले सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको उल्लेख गर्दै सक्षम सांसद र सशक्त संसद निर्माण गर्न यस्ता प्रशिक्षण कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रमलाई निरन्तर सिकाइ र सुधारको प्रक्रिया भन्दै उहाँले सांसदहरूलाई अन्तिमसम्म सहभागी भई अनुभव आदान–प्रदान गर्न पनि आग्रह गरे ।


Published :बैशाख २६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media