जङ्गली च्याउ खाँदा दुईको मृत्यु, १२ जना बिरामी

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८३

तानसेन (पाल्पा) । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ।

जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।

उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो। “गत शुक्रबार नजिकैको जङ्गलबाट उहाँहरूसहित तीन जनाले च्याउ ल्याएर खानु भएको रहेछ। शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल पु-याइएको थियो”, प्रनाउ भट्टराईले भने, “उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो।”

च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन्।

जिल्ला प्रहरीले उक्त विवरण आजै मात्र सार्वजनिक गरेको हो।


Published :जेष्ठ ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media