कांग्रेसको १५औँ महाधिवेशन असोज १६-१९ मै हुन्छः पौडेल

राष्ट्रपाटी न्युज

साउन २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तावित असोज १६ देखि १९ गतेसम्मको मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको मिति परिवर्तन नगरी तल्लो तहका अधिवेशनको तालिकामा सामान्य परिमार्जन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको छ।

महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको विषय पनि बैठकको प्राथमिकतामा रहेको महामन्त्री पौडेलले बताए।

यसअघि ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सदस्यता अद्यावधिक तथा वितरणका क्रममा देखिएका वस्तुगत अवस्था, समस्या र आवश्यक सुधारबारे बैठकमा धारणा तथा सुझाव राखिरहेका छन्।

महामन्त्री पौडेलले सदस्यता वितरण र अद्यावधिकको मुख्य काम सम्पन्न भइसकेको जानकारी दिँदै सूचीमा सच्याउनुपर्ने प्राविधिक पक्ष, समावेश हुन छुटेका विवरण तथा अन्य सांगठनिक विषयमा अहिले छलफल केन्द्रित रहेको बताए।

बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका अतिरिक्त समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको महामन्त्री पौडेलले जानकारी दिए।


Published :साउन २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media