आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँड्न सुधनलाई खगेन्द्रको चेतावनी

राष्ट्रपाटी न्युज

साउन ३०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी र सशस्त्र प्रहरीसँग सम्बन्धित विषयमा समितिमा परेको उजुरीलाई लिएर आफूले कसैमाथि कपोकल्पित आरोप नलगाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै सुनारले समितिमा उजुरी परेपछि सार्वभौम सांसदको हैसियतमा आवश्यक प्रश्न गरिएको र गरिने बताए । उनले समितिले १५ दिनभित्र सम्बन्धित सबै कागजात पेश गर्न निर्देशन दिएको जानकारी दिँदै विषयमा आवश्यक छानबिन हुन बाँकी रहेको बताए ।

अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्रै बसेर न्यायाधीश बनेर फैसला गर्दै हिँड्न नहुने उनको भनाइ छ। आरोपितलाई संरक्षण गर्दै अनुसन्धान प्रभावित पार्ने शैली स्वीकार्य नहुने उनले उल्लेख गरेका छन् ।

सुनारले भ्रष्टाचारको आरोप लागेका व्यक्तिले बर्दी लगाएर समिति–समितिमा गएर प्रवचन दिन नहुने टिप्पणी गरेका छन्। उनले भाषण गर्ने इच्छा भए बर्दी खोलेर चुनावमा आउनसमेत चुनौती दिएका छन्।

सुरक्षाकर्मीको तल्लो तहमा कार्यरत कर्मचारीको अवस्थाबारे पनि सुनारले प्रश्न उठाएका छन्। गरिब परिवारका छोरा–छोरीले प्रहरी तथा सशस्त्र प्रहरीमा रहेर लामो समय सडकमा ड्युटी गर्ने तर उनीहरूका आधारभूत आवश्यकता पूरा गर्न कठिन हुने अवस्था रहेको उनले बताएका छन् ।

सुरक्षाकर्मीका लागि आएको बजेटमा अनियमितता भए त्यसको छानबिन हुनुपर्नेमा जोड दिँदै सुनारले त्यस विषयमा आफूले जवाफदेहिता खोज्ने बताएका छन् । उनले आफू सांसद मात्र नभएर आवश्यक परे आफ्नो जीवन नै दाउमा राख्न तयार रहेको उल्लेख गर्दै ‘हिसाब हुने’ चेतावनीसमेत दिएका छन् ।

सुनारले आफू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरीको पक्षमा रहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालको अन्त्यमा उनले ‘सत्य सेवा सुरक्षणम्’ उल्लेख गर्दै नेपाल प्रहरीप्रति सम्मान व्यक्त गरेका छन् । गृहमन्त्री सुधन गुरुङले खगेन्द्र सुनारको प्रहरीमाथिकाे आक्रामक शैलीको विरोध गरेपछि उनको यो टिप्पणी आएको हो ।


Published :साउन ३०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media