१९ वर्षीय हात्ती ‘विक्रमप्रसाद’को मृत्यु, विधिपूर्वक अन्त्येष्टि

राष्ट्रपाटी न्युज

२६ आश्विन २०७७

चितवन राष्ट्रिय निकुञ्जमा क्षयरोग देखिएको एउटा हात्तीको मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार निकुञ्जको बेलसहर पोस्टको १९ वर्षको विक्रमप्रसाद नाम गरेको भाले हात्तीको मृत्यु भएको हो ।मृत्यु भएको हात्तीमा क्षयरोग (टीबी) देखिएको उनले जानकारी दिए । टीबी लागेका निकुञ्जका हात्तीमध्ये गत वर्ष तीन वटा र यो वर्ष दुई वटा हात्तीको मृत्यु भएको उनले बताए ।
उक्त हात्ती बच्चादेखि नै बिरामी हुने गरेको थियो । क्षयरोगसमेत भएको सो हात्ती आइतबार मरेको हो । हात्तीलाई हिन्दुहरु गणेश भगवानको प्रतस्क मान्दछन् । ‘त्यसैले मृत्युपछि हात्तीको धार्मिक विधिअनुसार पूजापाठ गरेर माटोमा पुरेर अन्त्येष्टि भएको छ,’ निकुञ्जका सूचना अधिकारी अशोक रामले भने । २०६३ सालमा गरेको परीक्षणपछि उक्त हात्तीमा क्षयरोग पुष्टि भएको थियो ।

राष्ट्रिय निकुञ्ज विभागले क्षयरोग नियन्त्रण र व्यवस्थापन योजना बनाएर हात्तीमा टीबी भए नभएको परीक्षण गर्ने र टीबी पत्ता लागे उपचार गर्न सुरु गरेको थियो । परीक्षणमा राष्ट्रिय प्रकृतिक संरक्षण कोष (एनटीएनसी)ले प्राविधिक सहयोग गर्दै आएको थियो । एनटीएनसीको सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछानेका अनुसार चितवनमा निकुञ्जका २० हात्ती र एनटीएनसीको तीनवटा हात्तीमा टीबी देखिएपछि उपचार सुरु भएको थियो ।

टीबी नै भएका कारण ६३ सालयता निकुञ्जका अहिलेसम्म सातवटा हात्ती मरेको रामले बताए । एउटा निजी हात्ती पनि टीबीका कारण मरेको एनटीएनसी प्रमुख लामिछानेले जानकारी दिए । एनटीएनसीको हात्ती टीबीका कारणले अहिलेसम्म नमरेको उनले बताए । पछिल्लो तीन वर्षयता हात्तीमा टीबी भए नभएको परीक्षण भएको छैन । परीक्षण सुरु गर्ने तयारी रहेको लामिछानेले बताए ।
हात्तीको विषयमा जानकार निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार घरमा राखेर पालेको हात्ती ८० वर्षसम्म र जंगलको हात्ती ६५ वर्षसम्म बाँचेको छ । हात्तीलाई मान्छेबाटै क्षयरोग सरेको हुन सक्ने उनले बताए । हात्तीले उचित आहारा नपाउने र कामको चाप बढी भएका कारणले पनि क्षयरोग हुन सक्ने सम्भावना बढाउँछ । निकुञ्जले गस्ती र निजीले पर्यटकलाई जंगल घुमाउन हात्ती पाल्दै आएका छन् ।

 


Published :२६ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media