प्रतिनिधिसभा विघटन विरुद्धको बहस भोलि सकिँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर आज रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ । जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ ।

जवाफी बहस सुरु गर्नुअघि इजलासले रिट दायर गर्ने पक्षका वकिलहरुलाई विभिन्न प्रश्नहरु राखेको छ । इजलासले राखेका प्रश्नमा शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ नि भनेर सोधेको थियो ।

इजलासले १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलासमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ? अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन् ।

रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनेछन् । रिट निवेदक पक्षको बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छ । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । भोलि सम्पूर्ण बहस सकिने कार्यक्रम छ ।


Published :२० असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media