काङ्ग्रेस महाधिवेशन सर्यो, मङ्सिर ९ देखि १३ गतेसम्म हुने

राष्ट्रपाटी न्युज

३० श्रावण २०७८

काठमाडौँ । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिएका छन् ।

तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति आगामी भदौ १६ देखि १९ गतेसम्ममा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी वडा अधिवेशन भदौ १८, गाउँ र नगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।


Published :३० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media