बूढानीलकण्ठ युवा परिषदले रोबोटिक्स वर्कसप र प्रतियोगिता संचालन गर्दै

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजना र रोबोटिक्स एसोसिएसन नेपालको सहकार्यमा रोबोटिक्स वर्कसप र प्रतियोगिता संचालन भैरहेको छ ।

नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईका अनुसार आधुनिक प्रविधि, आर्टिफिसीयल इन्टलिजन्स (AI) र रोबोट सम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन योग्य बनाउने उद्देश्यले रोबोटिक्स ‘कार्यशाला’ र ‘प्रतियोगिता’ संचालन गरिएको हो।

बूढानीलकण्ठ स्थित सामुदायिक विद्यालयहरुलाई लक्षित गरी मिति २०८० माघ १४ गते दखी १७ गते सम्म दुई दिवसीय “रोबोटिक्स वर्कशप” नगरपालिकाको विभिन्न स्थानमा भैरहेको छ । सो वर्कसप पश्चात सहभागि विद्यार्थीहरु विच माघ १८ गते प्रतिस्पर्धात्मक प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक एवं नगर युवा परिषद कार्यकारी सदस्य नेहा गुरुङका अनुसार वर्कसपलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्य माघ १४ र १५ गते वडा नं. १० देखी वडा नं. १३ सम्मका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई श्री बाल उद्दार मा.वि. मा कार्यशाला संचालन भैरहेको छ ।

यस्तै माघ १६ र १७ गते वडा नं. १ देखि वडा नं. ९ सम्मका ९ वटा विद्यालयबाट विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा कार्यशाला संचालन गरिने छ ।

यस कार्यशालामा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि हुने आयोजकले जानकारी दिएको छ ।

कार्यशाला पश्चात नगर स्तरमै माघ १८ गते प्रतियोगिता आयोजना हुने र त्यसबाट विजेता बनेका १० जनालाई थप प्रशीक्षण दिई रोवोटिक्स एसोसिएसन नेपालद्वारा आयोजित “यन्त्र ९.०”, राष्ट्र स्तरीय रोबोटिक्स प्रतियोगितामा सहभागि गराईने आयोजकले जानकारी दिएको छ।


Published :माघ १४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media