बाल उद्धार मा.वि. बन्यो बूढानीलकण्ठ रोबोटिक्स प्रतियोगिताको विजेता,अब राष्ट्रिय प्रतियोगितामा भाग लिने

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजना र रोबोटिक्स एसोसिएसन नेपालको सह-आयोजनामा भएको रोबोटिक्स वर्कसप(BootCamp) र WIRED CAR RACE प्रतियोगिता समापन भएको छ ।उक्त प्रतिष्पर्धाबाट बूढानीलकण्ठ नगरपालिका वडा नं १० रहेको बाल उद्धार मा.वि. ले उपाधी हात पर्न सफल भएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोबोट बनाउन सिकाउँदै राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगितामा सहभागिता गराउने उद्देश्यका साथ ५ दिन सम्म सञ्चालन भएको अभियानको आज प्रशिक्षार्थीहरु विच नगर स्तरीय प्रतियोगिता सञ्चालन गरी समापन गरिएको हो ।

आज भएको रोबोटिक्स WIRED CAR RACE प्रतियोगितामा कार्यशालामा प्रशिक्षार्थीलाई बनाउन सिकाईएको WIRED CAR हरु बिच ट्रायक रेस गराईएको थियो । प्रतियोगितामा विभिन्न १४ विद्यालयका समुहहरु समावेश थिए । हरेक समुहमा ५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको अवधारणा अनुसार आयोजकले बनाएको ट्रायकमा सबै भन्दा कम समयमा आफुले बनाएको कार कुदाउन पर्ने थियो । पहिलो चरणको प्रतिस्पर्धा बाट १४ जना मध्य ६ समुह छानिएका थिए ।

छानिएका ति ६ वटा समुह मध्ये फेरी अर्को प्रतिस्पर्धा गराईएको थियो । सोहि प्रतिस्पर्थाबाट सबै भन्दा कम समय १ मिनेट ४२ सेकेण्डमा रेस सकाँउदै वडा नं १० को बाल उद्धार मा.वि. ले उपाधी हात पर्न सफल भएको थियो । यस्तै २ मिनेट ४९ सेकेण्डमा रेस सकाउँदै वडा नं ०२ को गणेश मा.वि. प्रतियोगिताको उपविजेता बन्न सफल भयो ।

विजेता समुहमा अनोज गौतम, आइ बहादुर तामाङ , मुकेश मल्ल, शुभेक्षा रिमाल र अर्पणा खत्री थिईन भने उपविजेता टोलिको समुहमा मिङ्मा शेर्पा, हिमान्शु जि.सि., सुनिता राई, सरिता लामा र कौशल धौराली थिए ।

प्रतियोगिताको विजेता र उपविजेतालाई नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले प्रमाण-पत्र, मेडल र शिल्ड हस्तान्तरण गरेका छन् ।

यस्तै प्रतियोगिताको विजेता र उपविजेता दुबै समुहलाई रोबोटोक्स एसोसिएसन अफ नेपालले थप प्रशीक्षण दिई राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता “यन्त्र ९.०” मा सहभागि गराई विभिन्न देश विदेशका समुहहरु सँग प्रतिस्पर्धा गर्नेछन् ।

आज भएको समापन कार्यक्रममा नगर प्रमुख एवं युवा परिषद् अध्यक्ष मिठाराम अधिकारी, नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराई, नगर प्रवक्ता नवराज भट्टराई, सुशासन समिति संयोजक शम्भु प्रसाद भट्टराई, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, नगर युवा परिषद् सदस्य एवं कार्यक्रम संयोजक नेहा गुरुङ, नगर युवा परिषद् सदस्य राज अधिकारी, नेपाल एकेडिमी अफ साईन्स एण्ड टेक्नोलोजीका सिनियर वैज्ञानीक रोशन पाण्डे, विभिन्न विद्यालयका प्रधानाध्यापक, रोबोटिक्स एसोसिएसन अफ नेपालका प्रशिक्षक ई. राजन गह मगर तथा एसोसिएसनका अन्य सदस्य लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


Published :माघ १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media