
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित बहुचर्चित तेञ्जिङ्ग चोक- दुर्गा मन्दिर सडक पिच गर्ने सहमति भएको छ। आज बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कार्यालयमा भएको बिशेष बैठकले चैत्र १५ गते भित्र उक्त सडक कालोपत्रे गर्ने निर्णय गरेको हो। मेलम्ची खानेपानी आयोजना अन्तर्गत खनिएको उक्त सडक बर्षौंदेखि पिच नहुँदा स्थानीयबासीहरु पिडा भोग्दै आएका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कार्यालयमा भएको बिशेष बैठकमा नगरप्रमुख मिठाराम अधिकारी, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १०,११ र १२ का वडाध्यक्षहरु, योजना प्रमुख राजेन्द्र सापकोटा , कन्सल्ट्याण्ट सतिस यादब ,ठेकेदार कम्पनि शैलुंग कन्स्ट्रक्सनबाट दीपक आचार्य, जनप्रतिनिधिहरु, सरोकारवाला स्थानीयबासिका प्रतिनिधिहरु लगायतको उपश्थिति रहेको थियो।
उक्त बैठकबाट केयुकेएल पीआइडीले खानेपानी विस्तारका लागि बाँकी रहेका ठाउंहरुमा पाइपलाइन बिस्तार र भत्किएका बाटोहरु बैसाख मसान्तसम्म निर्माण सम्पन्न गर्ने निर्णय समेत गरेको छ। त्यसैगरि श्रावण १५ गते सम्म आरुबारीको पानि ट्यांकीमा पानि राख्न मिल्ने बनाइ ७०० एमएमको पाइप फिट गर्नुपर्ने ,मेन रोडमा पाइप बिस्तार गरिसक्नुपर्ने निर्णय समेत भएको छ। त्यस्तै वडा नम्बर १० ,११ र १२ भित्र पाइप लाइन विस्तार गर्दा ध्वस्त भएका सडकहरु सम्पूर्ण सडक पिच गर्न नगरपालिका मार्फत स्थानहरु समेत तोकी पीआइडीलाइ पत्र पठाउने र सोहि बमोजिम ठेकेदार कम्पनीले पिच तथा ढलान बैसाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको माइन्युटमा उल्लेख गरिएको छ।
