म समयलाई चिन्दिँन

राष्ट्रपाटी न्युज

असार १०, २०८१

त्रिलोचन आचार्य

कपन, काठमाडौँ

समय तँ मलाई कति सम्झाउँछस्
काम काजको बेला
निदायो कि भनी कति ब्युँझाउँछस्
घण्टा मिनेट सेकेन्डलगायत कति हो कति
बेला बेलामा आएर झक्झक्याउँछस्
कति पोहोर परारका फोटा देखाएर
मेरो हैसियत देखाउँदै
जनाउ घण्टी बजाउँछस्
कति भोलि पर्सी निकोर्सीका
उकालो देखाएर सजग गराउँछस्
तर म यी कुनै कुरा सुन्दिन
हो समय म तँलाई चिन्दिन ।

मलाई थाहा छ तैँले
बाटोमा आएका खोला नाला कटाइस्
झाडी वन भीर पहरा नघाइस्
लखतरान् विमारी परी
सुतेको मलाई उठाइस्
भोकले प्याक प्याक परेको बेला
साग र रोटी जुटाइस्
काम नपाएको बेला जागिर दिइस्
नङ्ग्रा खियाएर खाने आशीष दिइस्
घर बनाएस् भनी माटो दिइस्
यात्रा गरेस् भनी बाटो दिइस्
दिएका कुरा खुरूखुरू उपयोग गर्दै गरेँ
तर म हिँड्नुपर्ने बाटो हिँड्दिन
हो म तँलाई चिन्दिन ।

मलाई थाहा छ
तँ सँग आगोको राँको छ
र कुनै पनि बेला डढाइदिन सक्छस्
मलाई थाहा छ तँ सँग चिप्लो बाटो छ
कुनै पनि बेला लडाइदिन सक्छस्
अनि यो पनि थाहा छ कि तँ
कुनै पनि बेला
जिन्दगीबाट छुटाउन सक्छस्
चोर डाँकाहरूबाट लुटाउन सक्छस्
सक्ने पनि होस् तँ
कुनै पनि बेला
सफलताको माला लगाउँन पनि
त्यसको लागि मैले अहिलेको बाटो फेर्नुपर्छ
त्यसको लागि मैले स्वाभिमानको फेटा बेर्नुपर्छ
त्यसको लागि मैले पलपलको महत्त्व बुझ्नुपर्छ
हो म जबसम्म
आत्मविश्वासको बलियो रूमाल बुन्दिन
तबसम्म तँलाई चिन्दिन
हो समय म तँलाई चिन्दिन ।

पोल्छ भन्ने थाहा छ
र पनि म आगो खोज्दैछु
बाधिन्छु भन्ने थाहा छ
र पनि म धागो किन्दैछु
समय म तँलाई साक्षी राखेर
विष हालेको फलफूल र तरकारी किन्छु
उस्तै हुँ भन्ने थाहा छ र पनि
जनतासँगै छु भन्दा भन्दै
बेला बखत म सरकारी हुन्छु
कहिले दलको हुन्छु कहिले बलको हुन्छु
अनि सर्वसाधारण हुन बिर्सन्छु
तब समय तैँले नै मलाई बाटोमा ल्याउनुपर्छ
आफ्नै नाम थरको पाटोमा ल्याउनुपर्छ ।
त्यसो हो भने
किन नभनेको होला मैले
म हैसियत बेगर हिँड्दिन
समय हो म तँलाई चिन्दिन
ज्यान गए पनि चिन्दिन
बरू चुनाव आए पछि चिनिन्छ कि
हो समय म तँलाई चिन्दिँन ।


Published :असार १०, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media