बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजनामा “नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम” संचालन हुन लागेको छ ।
युवाहरुको नेतृत्व विकासका साथै युवाहरुलाई संसदिय अभ्यास र नगर सभाको अनुभव गराउने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजनामा उक्त कार्यक्रम हुन लागेको बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्का उपाध्यक्ष रुपेश भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार नगरपालिका भित्र स्थायी रुपमा बसोवास गर्ने १६ देखी २४ वर्षका युवाहरु कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
उक्त अबसरमा नमुना युवा संसद् अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि ३ दिने आवासिय नमुना युवा संसद् अभ्यास कार्यक्रम संचालन हुन लागेको हो ।
यस कार्यक्रम मार्फत युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउने मुल उद्देश्य राखिएको छ ।
फागुन १७ गते देखी १९ गते सम्म आवसिय कार्यक्रम संचालन हुने भएकोले ईच्छुक नगरवासी युवाहरुले २०८१ साल फागुन १५ गतेसम्म आवेदन नगर युवा परिषद्को कार्यालय गई फारम बुझाउन परिषद्ले आव्हान गरेको छ ।
आवेदकहरुले यसै पत्रसाथ संलग्न भएको अनलाईन फारम QR code scan गरेर पनी भर्न सक्नेछन।