रिलायन्स एजुकेसन नेटवर्कद्वारा आरपीमुनको एघारौँ संस्करण सम्पन्न

काठमाडौं। रिलायन्स एजुकेसन नेटवर्कले आयोजना गरेको आरपीमुन (RPMUN) को एघारौँ संस्करण भव्यताका साथ सम्पन्न भएको छ।

समापन समारोहको अध्यक्षता गर्दै रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजुकुमार शिवाकोटीले अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रमको सुरुवात दुई मिनेटको ध्यान तथा ‘थिम अफ द मन्थ’ सम्बन्धी परिचर्चाबाट गरिएको थियो। उक्त परिचर्चा रिलायन्स एजुकेसन नेटवर्क सञ्चालक समितिका सदस्य तथा संस्कृति विभाग प्रमुख दामोदर निरौलाले गरेका थिए। सोही क्रममा आठवटै समितिका उत्कृष्ट विद्यार्थीहरूको नाम सम्बन्धित समितिका अध्यक्षमार्फत घोषणा गरिएको थियो।

कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन रिलायन्स एजुकेसन नेटवर्क सञ्चालक समितिका सदस्य तथा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले गरेका थिए।

समापन समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक नन्दुप्रसाद कुशवाहा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। तीनदिने राष्ट्रिय सम्मेलनको महासचिवको जिम्मेवारी रोहित सञ्जेलले सम्हालेका थिए।

सम्मेलन निर्देशक दिलीप नेपाल र महासचिव रोहित सञ्जेलका अनुसार आरपीमुनको बाह्रौँ संस्करण आगामी वर्ष अझ भव्य रूपमा आयोजना गरिनेछ।

देशभरका २२ वटा विद्यालयबाट २०४ जना विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको उक्त राष्ट्रिय सम्मेलन काठमाडौंको कपनमा आयोजना गरिएको थियो। सम्मेलनले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अभ्यास, नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्व तथा कूटनीतिक संवादसम्बन्धी ज्ञान र अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।


Published :भदौ २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media