महरालाई २० लाख धरौटीमा छाड्न आदेश

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीबापत रिहा गर्न आदेश दिएको छ। न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न उक्त धरौटी रकम माग गरेको हो।

काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा सीआईबीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको थियो।

उच्च अदालतले महरालाई रिहा गर्ने निर्णय पाँच आधारमा टेकेर गरेको छ। आदेशमा महराको नाम जाहेरीमा उल्लेख नदेखिनु, सहअभियुक्तहरूले महरालाई संलग्न नठहराउनुभएको अभिमत, जफत भएको भनिएको सुन दसीका रूपमा पेस नहुनु, पूरक अभियोगमा नयाँ वा थप प्रमाण नआउनु, साथै उनको उमेर र स्वास्थ्य अवस्था विचार गरिनुपर्ने उल्लेख गरिएको छ।


Published :मंसिर ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media