
काठमाडाैं । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको २० लाख धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि धरौटी बुझाइ काठमाडौं जिल्ला अदालत उपस्थित भई रिहाई भएका हुन् ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई थुनामुक्त गर्ने आदेश जारी गरेको हो।
महरा असोज २६ गते काठमाडौंबाट पक्राउ परेका थिए। उच्च अदालतले अभियोग, संकलित प्रमाण, महराको उमेर र स्वास्थ्य अवस्थालाई समेत विचार गर्दै २० लाख रुपैयाँ नगद, सोही बराबरको जमानत वा बैंक जमानतसहित रिहा गर्ने निर्णय सुनाएको थियाे ।
“पूरक अभियोगमा नयाँ प्रमाण नदेखिएको, मूल तथा पहिलो पूरक अभियोगमा प्रमाण संकलन र फैसलासमेत भइसकेको र प्रतिवादीका बयानहरूका आधारमा तत्काल थुनामा राखेर पुर्पक्षका लागि अघि बढाउनुपर्ने अवस्था नदेखिएको” आदेशमा भनिएको छ ।