विश्वकपः जापान र नेदरल्यान्ड्स २–२ गोलको बराबरीमा

टेक्सस । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ ।

अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार भएको खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै अङ्क खोस्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । खेलको ५१ औँ मिनेटमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । रायन ग्रेभेनबर्चले पास दिएका थिए ।

नेदरल्यान्ड्सको त्यो अग्रता ६ मिनेटभन्दा बढी टिक्न सकेन । ५७ औँ मिनेटमा जापानका केइतो नाकामुराले डिफेन्डरलाई छलाउँदै प्रहार गरेको बलले जाली चुमेपछि खेलमा १–१ को बराबरी भयो ।

खेलको ६४ औँ मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी बक्सको कुनाबाट उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाए । डच टोली जिततर्फ अग्रसर भइरहेका बेला खेलको ८८ औँ मिनेटमा मिडफिल्डर डैची कमदाले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै जापानलाई हारबाट जोगाए ।

नेदरल्यान्ड्स यसअघि तीन पटक विश्वकपको उपविजेता भइसकेको टोली हो भने जापान अहिलेसम्म अन्तिम १६ भन्दा अगाडि बढ्न सकेको छैन।


Published :असार १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media