बुढानीलकण्ठ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले प्रथम ऐतिहासिक नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ ।
माघ १४ गते शनिबार हात्तीगौँडामा अवस्थित नगरपालिकाको सभाहलमा शिक्षा युवा तथा खेलकुद महाशाखाको सक्रियतामा सम्पन्न सम्मेलन कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख मिठाराम अधिकारीले उद्घाटन गरेका थिए ।
विभिन्न सत्रमा सञ्चालित सो सम्मेलनमा शिक्षकका पेशागत संघ संगठनका शिक्षक नेताहरुले शिक्षकको हकहित तथा गुणस्तरीय शिक्षण सिकाइका बारेमा आ–आफ्नो मन्तव्य राखेका थिए ।
सम्मेलनमा नगर उपप्रमुख अनिता लामाले शिक्षकहरुले शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले देश विकास गर्ने भविष्यका कर्णधार बालबालिकाको शैक्षिक सुधारकाे जिम्मेवारी लिएका हरेक शिक्षक आफ्नो पेशाप्रति दृढतापूर्वक लाग्नुपर्ने बताइन् । बालबालिकाको भविष्य उज्वल बनाउने कार्यमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेकाले इमानदारपूर्वक आफ्नो दायित्व पूरा गर्न उनले आग्रह गरिन् ।
त्यसैगरी सो सम्मेलनमा सहभागी शिक्षाक्षेत्रका विभिन्न वक्ताहरुले नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर वृद्धि गर्न विभिन्न सुझाव तथा आफ्ना अनुभवहरु सुनाएका थिए । सम्मेलनमा नगरभित्रका १९ वटा विद्यालयका प्रअ, सहायक प्रअ र शिक्षकशिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मेलनकाे सहजीकरण महाशाखा प्रमुख ललितविक्रम सिंहले गरेका थिए ।
सम्मेलन बुढानीलकण्ठ नगरको शैक्षिक सुधार, विकास र उन्नयनका लागि १५ बुँदे प्रतिबद्धता घोषणा २०७९ जारी गर्दै समापन भएको थियो ।
हेर्नुहोस् सो सम्मेलनले जारी गरेको १५ बुँदे प्रतिबद्धता घोषणा
१. प्रत्येक बालबालिका हाम्रो गौरब हुन् । यसका लागि प्रत्येक विद्यालयमा प्रारम्भिक वाल विकास र सेवालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नेछौ ।
२. अबको एक वर्षभित्र प्रत्येक विद्यालयमा आवश्यक सूचक तथा पूर्वाधार विकास गरी र प्रक्रिया पूरा गरी बालमैत्री विद्यालय घोषणा गर्नेछौ ।
३ प्रत्येक विद्यार्थीलाई वर्षमा कम्तिमा २ पटक विद्यालय तहमा एकिकृत स्वास्थ्य जाँच तथा उपचारको उचित प्रबन्ध गर्नेछौ ।
४. नगरपालिका क्षेत्रमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एक वर्ष भित्र न्यूनतम् सक्षमताको अवस्था सुनिश्चित ग`र्न मापदण्ड निर्माण गरी कार्यान्वयन गर्नेछौ ।
५. शिक्षा क्षेत्रमा न्यूनतम् २० प्रतिसत बजेट बिनियोजनको सुनिश्चितता गर्नेछौ ।
६. उच्च मनोबलयुक्त र अभिप्रेरित शिक्षक विकास र व्यवस्थापनका लागि न्यूनतम् पारिश्रमिक र सुविधाको सुनिश्चितता र पेसागत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछौ ।
७. नगरपालिका र वडा स्तरमा वालउद्यान र खेल मैदान लगायतका बालमैत्री पूर्वाधार निर्माण गर्नेछौ ।
८. प्रत्येक विद्यालयमा सक्षम नेतृत्वको विकास र व्यवस्थापन गरी उच्च शैक्षिक नतिजाको प्रर्बद्धन गर्नेछौ ।
९. प्रत्येक विद्यालयमा संगीत, नृत्य, खेलकुद र योगा लगायतका अतिरिक्त क्रियाकलापमा आवश्यक शिक्षण सिकाइका लागि नगर शिक्षक बैंकबाट शिक्षक परिचालन गरी अतिरिक्त सिकाइको सुनिश्चितता गर्नेछौ ।
१०. विद्यालय शिक्षामा सूचना प्रविधियुक्त शिक्षण, समतामूलक शिक्षण, जीवनपयोगी पाठ्यक्रमको कार्यान्वयन, सघन शिक्षण सेसन सञ्चालन, शिक्षण सिकाइको परीक्षण, विद्यार्थी निमार्णात्मक मूल्यांकन र अभिभावक शिक्षा लगायतका क्रियाकलाप सञ्चालन गरी शिक्षाको गुणस्तर वृद्धि गर्नेछौ ।
११. विद्यालय र नगरपालिकाबीच द्रुत सञ्चार समन्वय र सहकार्यका लागि डिजिटल सञ्चार लगायतको संयन्त्र विकास गरी परिचालन गर्नेछौ । साथै विद्यालय, वडा कार्यालय र नगरपालिकाबीचको प्रभावकारी समन्वय सहकार्य र साझेदारी अभिवृद्धि गरी विद्यालयको शैक्षिक सुधार, विकास र उन्नयनमा जोड दिनेछौ ।
१२. शिक्षकले प्रधानाध्यापक प्रधानाध्यापकले नगरपालिकासँग कार्यसम्पादन करार गरी लक्ष्यसूचकका आधारमा विद्यालयको सञ्चालन गर्नेछौ । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शिक्षक विद्यार्थी र उत्कृष्ट विद्यार्थीका अभिभावकलाई विद्यालय वडा र नगरपालिका तहमा प्रोत्साहन गर्नेछौ । कमजोर नतिजा भएको विद्यार्थी, शिक्षक र विद्यालयका लागि उपचारात्मक विधि अबलम्बन गर्नेछौ ।
१३. मेरो विद्यालय, मेरो सपना कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक बजेट र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नेछौ ।
१४. विद्यालय कक्षा शिक्षण, विद्यार्थी मूल्याकन र शिक्षक मनोबल अभिवृद्धि मापदण्ड विकास गरी कार्यन्वयन गर्नेछौ ।
१५. विद्यालय शिक्षा सम्बन्धी नगरपालिकाको नीति र गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नेछौ ।