रविको अभद्र अभिव्यक्तिप्रति एमालेको जवाफ- सरकार मरेको होइन सक्रिय भएको हो

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू पक्राउ पर्न थालेपछि दिएको अभद्र अभिव्यक्तिलाई लिएर सत्तारुढ नेकपा एमालेले जवाफ दिएको छ । लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ‘सरकार मरेको र आफूलाई जुठो परेको’ अभद्र अभिव्यक्ति दिएपछि एमाले नेता विष्णु रिजालले जवाफ दिएका हुन् ।

‘सरकार मरेको होइन, सक्रिय भएको छ,’ उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’

एमाले नेता रिजालले यसअघि पनि गृहमन्त्री रहिसकेका नेताहरू पक्राउ परेका घटना लामिछानेलाई स्मरण गराएका छन् ।

‘गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन,’ उनले भनेका छन्, ‘रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानुनलाई सघाउनुस्, ६५ करोडबारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि !’


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media