बुढानिलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको बुढानीलकण्ठ खेलकुद मैदान बन्ने पक्का पक्कि भएको छ। विगत ११ वर्षदेखि अलपत्र अबस्थामा रहेको २३ रोपनी भन्दा धेरै क्षेत्रफलमा बन्न लागेको राष्ट्रिय स्तरको यो मैदानमा रहेको मुआब्जा सम्बन्धि विषय टुंगिने अबस्थामा पुगेको छ। मैदानको प्याराफिट निर्माणको सम्बन्धमा रहेको मुआब्जा सम्बन्धि विवादित विषयमा सहमति भै मुआब्जा वितरण गरिएको वडाध्यक्ष श्रीराम केसीले जानकारी दिएका छन्।
नापी कार्यालयले बनाएको प्रतिवेदनको आधारमा मुआब्जा सम्बन्धि बिबाद रहेका ४ जनाको विषय टुङ्गिएर मुआब्जा लिइसकेका छन् भने बाँकी ३ व्याक्तिको विषयमा समेत छिट्टै समाधान हुने अबस्था बनेको बताइएको छ। मुआब्जा लिइएको जग्गाहरु बुढानीलकण्ठ नगरपालिकाको नाममा नामसारी समेत गरिएको छ। लामो समयदेखि यस क्षेत्रमा स्तरीय फुटबल मैदान बनाउने योजनाले पूर्णता पाउने अबस्था बनेको भन्दै वडाध्यक्ष केसीले खुशी व्यक्त गरेका छन्।
नापी कार्यालयले बनाएको प्रतिवेदन र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम बाटोसंग जोडिएको जग्गाहरु १७ लाख ५५ हजार प्रति आना र सार्वजनिक जग्गासंग जोडिएका बाटो नभएको जग्गाहरुको १३ लाख २५ हजार प्रति आनाको दरले मुआब्जा वितरण गरिएको बताइएको छ। तर नगरपालिकाले भने बाटोसंग जोडिएको जग्गाहरु १८ लाख प्रति आना र सार्वजनिक जग्गासंग जोडिएका बाटो नभएको जग्गाहरुको १५ लाखप्रति आनाको दरले मुआब्जा वितरण गर्न प्रस्ताव गरेको थियो।
अब उक्त मैदान निर्माणका लागि छिट्टै खेलकुद परिषदले पूर्ण रुपमा डिपिएर तयार गर्ने र ३ करोड बराबरको टेन्डरको प्रक्रिया अगाडी बढ्ने बताइएको छ। उक्त क्षेत्रमा प्याराफिट सहितका विभिन्न भवन बन्ने र बुढानीलकण्ठ नगरपालिका क्षेत्रवाट खेलाडीहरु उत्पादन गर्न तालिम प्रशिक्षण सहित खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने योजना रहेको छ।